प्रधानमन्त्रीले रोकेपछि समाजवादीका मन्त्रीको पद जोगियो

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री फेर्न नमानेपछि तत्कालका लागि नेकपा एकीकृत समाजवादीका चार मन्त्रीको बहिर्गमन तत्कालका लागि रोकिएको छ । पार्टीमा औपचारिक निर्णय गरेर गएपनि समाजवादीको निर्णयलाई प्रधानमन्त्रीले तत्काल कार्यान्वयन गर्न नसक्ने बताएको समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
‘सोमवार भएको छलफलमा प्रधानमन्त्रीजीले मलाई पनि पार्टीभित्र प्रेसर हुन्छ अहिले मन्त्री नफेरौँ भन्नुभएछ, खतिवडाले भने, ‘हाम्रो अध्यक्ष (माधव नेपाल) ले पार्टीको आधिकारिक निर्णय भएपछि तपाईँले कार्यान्वयन गर्नुपर्छ भनेर आउनुभएको छ ।’
यहि बीचमा पार्टीको निर्णय कार्यान्वयन हुन समस्या भएको भन्दै प्रवक्ता खतिवडाले थपे, ‘हाम्रो पार्टीको निर्णय रोक्ने अधिकार प्रधानमन्त्रीलाई छैन ।’ उनका अनुसार अहिले पार्टीका शीर्ष नेताहरु छलफलमा छन् ।
तर प्रधानमन्त्रीको सचिवालयले भने मन्त्री हेरफेरको निर्णय प्राप्त भइनसकेको दाबी गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द परियारले भने, ’ एकीकृत समाजवादीबाट मन्त्री हेरफेर गर्ने कुनै आधिकारिक पत्र प्रधानमन्त्रीलाई प्राप्त भएको छैन ।’
समाजवादीले सोमबार आफ्नो पार्टीका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उययन मन्त्री प्रेम आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गर्ने निर्णय गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उययन मन्त्रीमा जीवनराम श्रेष्ठ र शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा गैरसांसद् शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसीको नाम सिफारिस गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार